काठमाडौं - हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले पौने ३ करोड कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसअघि कम्पनीले गत असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामीमा राखेको थियो । त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले पुनः लिलामीमा राखेको हो ।
यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन् ।
साउन २९ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।
प्रतिक्रिया