बैंकहरुले राख्ने सिसिटिभीले गलत गतिविधीहरुको अनुसन्धान गर्न पर्याप्त छैनन् : राष्ट्र बैंक

३ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्थाले सुरक्षा प्रयोजनका लागि राखेका सिसिटिभी माथि प्रश्न उब्जिएकोे छ । बैंकहरुमा हुन सक्ने गलत कृयाकलापलाई निगरानी गर्न राखिने सिसिटिभीको प्रयोग सो अनुसार हुन नसकेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले राख्ने सिसिटिभीले बैंकहरु भित्र हुनसक्ने गलत गतिविधीहरुको अनुसन्धानका लागि प्रयोग गर्न पर्याप्त छैनन । कन्द्रीय बैंकको सुपरिवेक्षणका क्रममा बैंकहरुका सिसिटिभी भिडियो निगरानी सेटअप अवैधानिक क्रियाकलाप, जालसाजी तथा शंकास्पद गतिविधिहरूको अनुसन्धान गर्न मिल्ने गरी पर्याप्त नभएको भेटिएको हो ।

नेपाल राष्ट्र बैंकले गरेको अनुमगन प्रतिवेदन अनुसार अघिल्लो आवमा बैंकहरुका सिसिटिभी थप प्रभावकारी हुने गरी सेट गर्नुपर्ने औंल्याएको छ । अहिले राखिएका सिसिटिभी क्यामेरा मार्फत टेलरका नोटका प्याकेट र बन्डलहरू पहिचान गर्न नसकिने अनुगमनका क्रममा पत्ता लागेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक वित्तीय संस्थामा राखिएका सिसिटिभी क्यामेराले रेकर्ड गर्ने भिडियो क्वालिटी न्यून गुणस्तरको हुने गरेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “बैंकहरुमा प्रयोग भएका सिसिटिभी कम गुणस्तरका तथा आवश्यक क्षेत्रका पूरा कभर नगर्ने गरी सेटअप गर्ने गरिएको अनुगमनका क्रममा पाइएको हो,” ती अधिकारीले भने,“ सिसिटिभी राखिएपनि गलत क्रियाकलाप गर्न सघाउने गरी राख्ने गरिएको छ, यो सुधार हुनु पर्छ।”

बैंक वित्तीय क्षेत्रमा भित्रिएको नयाँ प्रविधिले बैंकिङ सेवालाई थप छरितो र सहज बनाएको छ । तर, प्रविधिको प्रयोग बढेसंगै बैंकिङ क्षेत्रको जोखिम पनि थप भएको राष्ट्र बैंकको ठहर छ । नेपालको सन्दर्भमा साइबर क्राइमका घट्नाहरु आइसकेको अवस्था छ । प्रविधिको सहयोगमा एटिएम तथा स्वीफ्ट ह्याकिङका घट्ना नेपालमा घटिसकेका छन । त्यसैले बैंकहरुले साइबर सुरक्षाको सन्दर्भमा सबलिकरण गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया