काठमाडौं - नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सहमतिको आधारमा गर्ने पुरानो निर्णय खारेज गरेकोे छ । एशोसिएसन अध्यक्ष कुमुद खनालको अध्यक्षतामा बिहीबार बसेको कार्यसमितिको बैठकले गत पुसमा सहमतिमा नेतृत्व छान्ने गरी भएको निर्णय खारेज गरेको हो ।
अध्यक्ष खनालले सहमतिमा संघको नेतृत्व छान्ने सात महिना पहिलेको विशिष्ट अवस्थामा विशिष्ट निर्णय भएको भएपनि त्यसको औचित्य समयक्रमसँगै सकिएको कारणले उक्त निर्णय खारेज गरिएको र अब हुने संघको निर्वाचनमा एशोसिएसनले अध्यक्षसहित सबै पदमा उम्मेदवार खडा गर्ने बताए ।
गत पुसमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठसमेतको सद्भावमा संघ कार्यसमितिमा पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायी संस्थाको संस्थागत प्रतिनिधित्व हुने गरी पद बाँडफाँडको निर्णय भएको थियोे ।
संघको तत्कालीन कार्यदलले नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले सिफारिस गर्ने व्यवसायीलाई अध्यक्षमा निर्विरोध निर्वाचति गर्ने सहमति गरेको थियो ।
प्रतिक्रिया