काठमाडौं - नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ ।
विशेषगरी विप्रेषणलाई वैधानिक तबरले भित्र्याउने तथा त्यसबाट थप पूँजीको विस्तार गर्ने लक्ष्यका साथ बोर्डले प्राथमिक शेयर निष्काशनमा १० प्रतिशत बराबरको शेयर आरक्षण गर्ने नीति तय गरेको छ । त्यसका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गर्ने भएको छ ।
बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश हमालले विप्रेषण पठाउने श्रमिकको हितका लागि यस्तो नीतिको प्रबन्ध गरिएको जानकारी दिए ।
धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुल्ला गर्न धितोपत्रसम्बन्धी कानूनमा आवश्यक संशोधन तथा परिमार्जन गरिने भएको छ ।
बोर्डलाई थप जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउनका लागि धितोपत्र तथा वस्तु विनिमय बोर्डसम्बन्धी विधेयक तथा धितोपत्र व्यवसायीको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन धितोपत्र विनियमसम्बन्धी विधेयकको मस्यौदा कार्य अगाडि बढाइने अध्यक्ष हमालले जानकारी दिए ।
प्रतिक्रिया