काठमाडौं - नेप्सेको टीएमएस निर्माता कम्पनी वाइकोको चरम लापरबाहीले रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर आज किनबेच पाइएको छ ।
सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि गत असार २९ गतेबाट रिलायन्स लाइफ इन्स्योरेन्स सेयर कारोबार रोक्का रहेको छ । तर, रोक्का गरिएको सेयर आज कारोबार भएपछि नेप्सेले यस विषयमा अनुसन्धान गरेको छ ।
अनुसन्धानका क्रममा वाइकोको कमजारीका कारण रिलायन्स लाइफको सेयर कारोबार भएको पत्ता लागेको नेप्सेका एक अधिकारीले बताए । यस्तै वाइकोका एक प्राविधिकले आफूहरूबाट कमजोरी भएको स्वीकार गरेका छन् ।
आज रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा पोजिटिभ सर्किट लागेको छ । कम्पनीको सेयरमा १० प्रतिशतको बढोत्तरीका साथै पोजिटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको सेयरभाउ ३३.५ रुपैयाँको बढोत्तरीका साथ ३६८.५ रुपैयाँ पुगेको छ ।
यस विषयमा नेप्सेले एक सूचना जारी गर्दै लगानीकर्ताहरूसँग माफी मागिसकेको छ ।
प्रतिक्रिया