ताप्लेजुङ - ताप्लेजुङ जिल्ला अदालतले पहिलो पटक ‘महिला जिल्ला न्यायाधीस’ पाउने भएको छ । न्याय परिषद्ले गरेको सरुवा सिफारिस अनुसार ताप्लेजुङ जिल्ला अदालतमा सुनसरी जिल्ला अदालतमा न्यायाधीस रहेकी निर्मला योङ्या जिल्ला न्यायाधीसको रुपमा पुग्ने भएकी हुन् ।
त्यहाँ कार्यरत जिल्ला न्यायाधीस प्रकाश राउतको बारा जिल्ला अदालतमा सरुवा भएको छ । विक्रम सम्वत् २०२१ सालदेखि जिल्ला अदालत रहेको ताप्लेजुङमा अहिलेसम्म जिल्ला न्यायाधीस महिला थिएनन् ।
जिल्ला अदालत सुरु हुँदा २०२१ सालमा शाखा अधिकृत सरहका पूर्णबहादुर श्रेष्ठले जिल्ला अदालतको न्यायक्षेत्र सम्हालेका थिए । जिल्ला अदालत बन्नुभन्दा पहिले भने न्याय क्षेत्र ताप्लेजुङ अमिनीका रुपमा रहेको थियो ।
विक्रम सम्वत् १९५२ सालमा लप्टन पूर्णबहादुर क्षेत्रीले ताप्लेजुङ अमिनीको नेतृत्व गरेको इतिहास रहेको छ । यसैबीच, ताप्लेजुङ जिल्ला अदालतको न्यायाधीस बनेर कार्य सम्पादन गरेको करिव तीन वर्षको ईतिहाँसमा जिल्ला न्यायाधीस राउत विवादरहित बने ।
प्रतिक्रिया