काठमाडौं- सयपत्री हाइड्रोपावर लिमिटेडले भोलि शुक्रवार (साउन १३ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ ।
बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ । हाल कम्पनीको चुक्ता पूँजी रु.२१ करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात् पूँजी रु. ३० करोड पुग्नेछ ।
उक्त समयमा सबै शेयर विक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आईपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओको विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया