काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंकले गत आर्थिक वर्षको आसार मसान्तसम्ममा ४ अर्ब ८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १४.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३१.४१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म ५ अर्ब ११ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ९४ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५९ करोड रुपैयाँमा सीमित थियो ।
बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको रिजर्भको आकार ३।८३ प्रतिशतले बढेर १४ अर्ब ६७ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १४ अर्ब १३ करोड रुपैयाँमा सीमित थियो ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँबाट बढेर २२.३२ रुपैयाँमा झरेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११.८७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८७.२१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया