काठमाडौं - बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ९ गते एकैदिन बैंकिङ प्रणालीबाट १३ अर्ब रुपैयाँ बाहिरिएको हो ।
योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ । यसअघि साउन ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो ।
यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । साउन ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा ९ गतेसम्म घटेर ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ ।
यसैगरी साउन ९ मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर छ । साउन ८ गते पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ नै थियो । साउन ९ गते पनि कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ नै रहेको छ ।
साउन ९ गते बैंकहरुको औसत सीडी रेसियो थोरै बढेर ८७.७१ प्रतिशत पुगेको छ । अघिल्लो दिनसम्म सीडी रेसियो ८७.६२ प्रतिशतमा सीमित थियो ।
प्रतिक्रिया