काठमाडौं- मौद्रिक नीतिपछि ट्रेजरी विल्सको ब्याजदर ह्वातै बढेको छ।
राष्ट्र बेंकको तथ्याँक अनुसार साउन ८ गतेसम्ममा ९१ दिन अवधिको ट्रेजरी विल्सको ब्याजदर १३.९९ प्रतिशत पुगेको छ।
राष्ट्र बैंकले साउन ९ गते १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी विल्स निष्कासन गरेको थियो। जसमा ९१ दिन अवधिको १३ अर्ब ६० करोड रुपैयाँको र २८ दिन अवधिको २ अर्ब रुपैयाँको थियो। राष्ट्र बैंकले निष्कासन गरेको विल्समा बैंकहरुले १३.९९ प्रतिशतसम्म ब्याजदर राखेर आवेदन गरेका हुन्।
यसअघि केन्द्रिय बैंकले साउन २ गते जारी गरेको ट्रेजरी विल्स जारी गरेको थियो। सो समयमा ९१ दिन अवधिको ट्रेजरी विल्सको औषत ब्याजदर ९.३३ प्रतिशत कायम भएको थियो तर एक साता पछि नै यस्तो ब्याजदर बढेर औषतमा १२ प्रतिशत माथि पुगेको छ।
सरकारले आन्तरिक ऋण उठाउन ट्रेजरी विल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका उपकरणहरु जारी गर्ने गछ। बैंक तथा वित्तीय संस्थाले लगानी गरेको यस्ता औजारहरुलाई धितो राखेर राष्ट्र बैंकबाटस्थायी तरलता सुविधा लिन पाइन्छ। विकास ऋणपत्रलगायतका सरकारी उपकरणहरुको ब्याजदर दोहोरो अंकमा पुगेपछि बैंकहरुले सोही उपकरणलाई धितोमा राखेर ठुलो मात्रामा सापटी उठाउदै आएका थिए।
असारमा बैंकहरुमा निक्षेप बढेको कारण ट्रेजरी विल्सको ब्याजदर केहि घटेको भए पनि केन्द्रिय बैंकको मौद्रिक नीतिपछि तरलता अभाव अझै चर्किने भएपछि ट्रेजरी विल्सको ब्याजदर उकालो लागेको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकदरलाई साढे ८ प्रतिशत पुर्याएको थियो।
प्रतिक्रिया