नक्कली बिल बनाई ठगी गर्ने खेलकुद विकास समितिका तत्कालीन अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर

३ बर्ष अगाडि

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष र कार्यालय प्रमुख सहित चार जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । 

आयोगले पाल्पाका खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष करूणा काफ्ले, कार्यालय प्रमुख तारा बहादुर थापा र प्रोपाइटरहरु समेत ४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

खेलकुद विकास समितिको अध्यक्षसमेतले आ.व. २०७३/०७४ र २०७४/०७५ मा फर्जी कागजात तयार गरी रकम भुक्तानी दिई भ्रष्टाचार गरेको भन्ने आयोगमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा आयोगले अनुसन्धान गर्दा उनीहरुले भ्रष्टाचार गरेको पाइएको आयोगको भनाई छ ।

पाल्पा स्थित रामपुर बहुउद्देश्यीय कभर्डहलको निर्माणमा प्रावधान विपरित विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरी गर्नुपर्नेमा फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिसँग अति संक्षिप्त रूपको परामर्श सेवा खरिद सम्झौता गरेको आयोगको आरोप छ ।

 उक्त डिपीआर पेश गरेपछि मात्र ९ लाख ९० हजार रुपैयाँ भुक्तानी दिनुपर्नेमा डिपीआर नै पेश नगरी इन्सेप्शन रिपोर्टलाई नै डिपीआर रिपोर्ट भनी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिका प्रोप्राइटरले झुठा विल भरपाई पेश गरेको आयोगले जनाएको छ ।

सोही आधारमा वदनियतपूर्वक फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिका प्रोप्राइटरहरू सन्देश पाण्डे र झपेन पाण्डेलाई लाभ र नेपाल सरकारलाई हानी पुर्याउने उद्देश्यले निजहरु करूणा काफ्ले र तारा बहादुर थापाले भुक्तानी दिएको हुँदा उनीहरु विरुद्ध ९ लाख ९० हजार रुपैयाँ मागदावी सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया