काठमाडौं - प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.११ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७।७५ प्रतिशत बढेको छ ।
सो अवधिसम्ममा बैंकको ३८ करोड ७९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ३० पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०।१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष २३.८२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ८.३७ प्रतिशत र कर्जा ८.०३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया