काठमाडौं - सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै गैर सञ्चालन खर्च घटेका कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३.४१ प्रतिशत घटेको छ ।
त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत र सञ्चालन मुनाफा १९।९० प्रतिशत बढेको छ । इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा केही दबाब परेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १ पैसा बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेको छ भने जगेडा कोष २५.०८ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २३.६५ प्रतिशत र कर्जा १९।५६ प्रतिशत बढेको छ ।
प्रतिक्रिया