लक्ष्मी बैंक नाफामा झिनो सुधार, निक्षेप र कर्जा बढ्दा ईपीएस कति पुग्यो ?

३ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो सुधार भएको छ ।

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेका कारण खुद नाफा दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ८.५५ प्रतिशत बढेको छ । 

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८.१७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.१७ प्रतिशत मात्र बढेको छ । निष्क्रिय कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा दबाब परेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

नाफामा झिनो सुधार भएपनि बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ११.१६ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको निक्षेप १९.६७ प्रतिशत र कर्जा २१.६६ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया