काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.४३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत बढेको छ ।
त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.७५ प्रतिशत बढेको छ । इम्पेरमेन्ट चार्ज घटेसँगै खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढ्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२।०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेको छ भने जगेडा कोष २२.९० प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १०.१९ प्रतिशत र कर्जा १३.२० प्रतिशत बढेको छ ।
प्रतिक्रिया