काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार बैंकले सो अवधिसम्ममा ५ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.२७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २०.४२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३.३७ प्रतिशत र कर्जा १३.०७ प्रतिशत बढेको छ ।
प्रतिक्रिया