खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै सिभिल लघुवित्तको खुद नाफा बढ्न पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.३१ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३९.१८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३९.२३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८.०६ प्रतिशत बढेको छ ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर २५ रुपैयाँ ५६ पैसामा झरेको छ ।  चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.२९ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष ५४.१४ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ५४.१४ प्रतिशत बढेको छ भने कर्जा ५७.१५ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया