काठमाडौंं - एनआईसी एशिया बैंकको ७ लाख १७ हजार ९५० कित्ता सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखिएको छ ।
लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरबाट खरिद आवेदन दिन सक्नेछन् ।
लिलामी सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यी लिलामी सेयरमा साउन १९ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।
प्रतिक्रिया