सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन, कुनको कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं- सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार ६४० कित्ता आईपीओ बुक बिल्डिङमार्फत निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । 

सर्वोत्तम सिमेन्टले गत असार २८ गते र रिलायन्स मिल्सले असार ३१ गते आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । दुवै कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सर्वोत्तम सिमेन्टले आईपीओको ‘कट अफ’ मूल्य प्रतिकित्ता रू. ५०१ निर्धारण गरिसकेको छ । बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको यस कम्पनीको आईपीओको मूल्य निर्धारणका लागि योग्य संस्थागत लगानीकर्ताहरूले बिड गरेका थिए ।

बुक विल्डिङ विधिअनुसार कम्पनीले कट अफ प्राइसमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने भएकाले सर्वोत्तमको शेयरको आधार मूल्य प्रतिकित्ता ६०१ रूपैयाँ २० पैसा हुनेछ । कम्पनीले उक्त आधार मूल्यमा पनि थप २० प्रतिशत जोडेर प्रतिकित्ता सेयर ७२१ रूपैयाँसम्ममा विक्री गर्न सक्नेछ ।

सर्वसाधारण लगानीकर्ताले भने कट अफ मूल्यभन्दा कममा नै शेयरमा आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । त्यसपछि कम्पनीले दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयवासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

रिलायन्स मिल्सले कुल १४ लाख ६० हजार आईपीओ निष्कासन गर्न लागेको छ, जसमा कुल कित्तामध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन पाउनेछन् । बाँकी रहेको ६० प्रतिशत अर्थात् ६ लाख ८९ हजार ३६० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया