साताको चौथो दिन पनि बढ्यो शेयर बजार, १ अर्ब ७३ करोड बढीको कारोबार

३ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयरबजारमा झिनो अंकले बढेको छ ।  आज नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ को विन्दुमा  पुगेको छ । पछिल्लो ८ कारोबार दिनमा नेप्से परिसूचक १३४.९८ अंक बढेको छ।

यस दिन नेप्से उकालो लागेपनि कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा सामान्य घटेको छ। मंगलबार २ अर्ब २९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१५ स्टकको कारोबारमा २९ हजार ८६ पटकको कारोबारमा १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको ४१ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन मल्टीपपर्स फाइनान्सको शेयरमूल्य सर्वाधिक ५.६९ प्रतिशत बढेको छ। त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ४.३५ प्रतिशत बढेको छ। यस दिन शिवम् सिमेन्ट्स, नेपाल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, जानकी फाइनान्स र आईसीएफसी फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको हो।

 

३ बर्ष अगाडि

प्रतिक्रिया