काठमाडौँ – पाटन दरबार क्षेत्रस्थित केशवनारायण चोकको उत्तरीखण्डको पुनःनिर्माण कार्य अहिलेसम्म हुन सकेको छैन ।
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको यो संरचना प्रवलीकरणका क्रममा समस्या आउँदा विज्ञसँग राय लिएर मात्र काम गर्नुपर्ने भनिएपछि पुनःनिर्माणको अगाडि बढ्न नसकेको पाटन सङ्ग्रालयले जनाएको छ ।
कुनै पनि भवन भत्काएर पुनःनिर्माण गर्दा धमाधम काम गर्न सकिने भए पनि पुरानो र जीर्ण भवनलाई प्रवलीकरण गर्न बढी समय लाग्ने सङ्ग्रहालयका कार्यकारी निर्देशक सन्दिप खनालले बताउनुभयो । पुरानो भवनमा काम गर्दा तीनमा प्रयोग भएका सामग्री सोचेभन्दा फरक अवस्थामा भेटिने उहाँले बताउनुभयो ।
मल्लकालीन दरबारका रुपमा रहेको यो भवन पहिले पनि समयसमयमा मर्मत भइरहेको बताइन्छ । “पुरानो यो संरचना समयसमयमा मर्मत हुँदा प्रयोग भएका सामग्री धेरै बिग्रिसकेको हुनसक्छ” उहाँले भन्नुभयो, “जुन कुरा भवन भत्काएर नै काम थालेपछि मात्रै देखिन्छ, शुरु गर्नु पहिले थाहा हुँदैन ।”
चोकको यसअघि दक्षिणी खण्डमा प्रवलीकरण हुँदा कुनै इँटा बिग्रिएको, कतै एकातिर ढल्केकोलगायतका समस्या पाइएको कार्यकारी निर्देशक खनालले बताउनुभयो । यहाँ प्रयोग भएका सामग्री पहिले सोचेभन्दा फरक अवस्था भेटिँदा विज्ञसँग राय लिएर मात्रै काम अघि बढाइने गरिएको सङ्ग्रहालयले जनाएको छ । उहाँले भन्नुभयो,“समस्या आएपछि विज्ञ समूहले कसरी अघि बढ्ने भन्ने सल्लाह दिएपछि त्यसकै आधारमा काम हुन्छ ।”
उत्तरी खण्डको काम पनि विभिन्न खण्डमा भइरहेको छ । पहिलो खण्डको काम वैशाखदेखि शुरु भएकोमा आगामी फागुनसम्म सम्पन्न हुने गरेर ठेक्का सम्झौता भएको छ । पहिलो खण्डको काम सकिएपछि नै दोस्रो खण्डको काम शुरु हुनेछ । केशवनारायण चोकमा प्रवलीकरण भइरहँदा यहाँ रहेको सङ्ग्रहालय अर्काे भवनमा सारिएको छ ।
प्रतिक्रिया