काठमाडौं- श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले बुधवार (साउन ४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको छ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदन दिने समय साउन ८ गतेसम्म रहेको छ । उक्त समयसम्म मागबमोजिम आवेदन नपरेमा साउन १८ गतेसम्म थप हुनेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया