एक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्ब बढ्यो,  कर्जा लगानीको र सीडी रेसियो के कति ?

३ बर्ष अगाडि

काठमाडौं, एक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८र७९ मा वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको हो। योसँगै असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो। 

गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँले बढेको छ। गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब रुपैयाँ रहेकोमा असार मसान्तसम्म बढेर ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। 

 वाणिज्य बैंकहरुको गत आर्थिक वर्षमा कर्जा लगानी पनि ४ खर्ब ५४ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षमा भने कर्जा लगानी बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। 

गत असारमा भने वाणिज्य बैंकहरुको कर्जा लगानी १८ अर्ब रुपैयाँले घटेको छ। गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार मसान्तसम्म घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको छ। 

असार मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.४१ प्रतिशत रहेको छ। 

त्यस्तै सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुको सीडी रेसियो पनि ९० प्रतिशतभन्दा तल नै रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया