काठमाडौं - आज आइतबारदेखि नयाँ आर्थिक वर्ष २०७९/८० शुरु भएको छ । आर्थिक वर्षको शुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । त्यस्तै विवाहितको हकमा ६ लाख रुपैयाँसम्म आयकर लाग्दैन ।
यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ । अविवाहितको हकमा ५ देखि ७ लाख रुपैयाँसम्मको आम्दानी १० प्रतिशत र ७ देखि १० लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ ।
वार्षिक २० लाख रुपैयाँभन्दा धेरै आम्दानी हुने अवस्थामा भने त्यसभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ । यसैगरी विवाहितको हकमा ६ लाखदेखि ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था छ । ८ लाखदेखि ११ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ ।
सरकारले १५ प्रतिशतले वृद्धि गरेको कर्मचारीको तलब आजैदेखि लागू हुँदैछ । आजदेखि पहिलो पटक विद्युतीय सेवा कर लागू हुँदैछ । यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सजस्ता प्लेटफर्म करको दायरामा आएका छन् ।
प्रतिक्रिया