उपसभामुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल निर्वाचित

३ बर्ष अगाडि

काठमाडौं - उपसभामुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी पुष्पा भुसाल (गौतम) निर्वाचित भएकी छिन् ।

शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतक समेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन् ।

प्रतिनिधि सभामा शुक्रबार भएको मतदानमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन । जसमध्ये भुसालका पक्षमा १४८ सांसदले मत जाहेर गरेका थिए । पराजित भट्टराईको पक्षमा ९३ जनाले मत जाहेर गरेका थिए ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी भुसाल दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् । प्रतिनिधि सभामा विगत साढे २ वर्षदेखि उपसभामुख विहिन रहेको थियो । सो पदमा भुसालले नयाँ जिम्मेवारी पाएकी हुन् ।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २७१ सांसद रहेका छन् त्यसको बहुमत १३६ जना हुन आउँछ । तर भुसालले १२ बढी मत पाएकी हुन् ।

तत्कालीन उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ४ गते बिहान ११ बजे बस्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया