काठमाडौं - संघीय संसद (प्रतिनिधि सभा) को उपसभामुख पदमा आज निर्वाचन हुँदैछ । आज दिउँसो ३ बजे मतदान गर्ने कार्यतालिका छ ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली भएको थियो ।
उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराईले हिजो उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभामा अहिले २ सय ७१ सांसद रहेका छन् । उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको सङ्ख्याको बहुमत अर्थात १ सय ३६ मत आवश्यक पर्छ ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १ सय ५४ जना सांसद रहेका छन् ।
सत्ता गठबन्धनसँग बहुमत मत रहेकाले कांग्रेसकी भुसाल निर्वाचित हुने निश्चित देखिन्छ। एमालेसँग ९८ जना सांसद रहेका छन् ।
प्रतिक्रिया