काठमाडौं - अनधिकृत व्यक्तिले बजेटमार्फत करका दरमा चलखेल गरेको बेलाको सीसीसीटीभी फुटेजलगायत कागजात संसदीय छानबिन विशेष समितिले समयमा पाउन सकेको छैन ।
समितिले बिहीबार दिउँसो २ बजेभित्र ती कागजात उपलब्ध गराउन अर्थ मन्त्रालयलाई भनेको थियो । तर, ती कुनै पनि प्राप्त नभएको समिति सचिव सुरेन्द्र अर्यालले बताए ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्राविधिक समस्या आएको भन्दै सीसीटीभी तथा कागजात उपलब्ध नगराएको जनाइएको छ । मन्त्रालयको आनाकानीमै समितिको तीन दिन बितेको छ ।
यो समितिले गठनको एक सातापछि मात्रै काम थालेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकै दिन असार २२ गते छानबिन समिति गठन गरिएको थियो। उसले असार २७ मा काम थालेको हो ।
शुक्रबारदेखि दु्रतगतिमा काम अगाडि बढाउने कार्यतालिका बनेको थियो । तर, सीसीटीभी र आवश्यक कागजात नपाएपछि अन्योल भएको जनाइएको छ ।
समितिले शुक्रबार १० बजे बैठक बस्ने, माग गरिएको कागजातसहित सीसीटीभीको अध्ययन गर्ने, १२ बजे अर्थसचिवसहित कर्मचारीसँग सोधपुछ गर्ने, ५ बजे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गर्ने कार्यतालिका बनाएको थियो ।
तर, त्यसअनुसार पहिलो काम नै हुन नसक्ने अवस्था आएको छ । हालसम्म भन्नलायक ठूलो उपलब्धि हात नपरेको अर्यालले बताए ।
प्रतिक्रिया