निरन्तर तेस्रो दिन पनि बढ्यो नेप्से, झण्डै साढे २ अर्बको कारोबार

३ बर्ष अगाडि

नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक निरन्तर तेस्रो दिन बढेर बन्द भएको छ। मंगलबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक १४.७१ अंक बढेर २००१.५३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २२० स्टकको ३९ हजार १६८ पटकको कारोबारमा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको ६२ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। यस दिन सो बैंकको ३० करोड १८ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, अपर तामाकोशीको यस दिन १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बिहीबार एनआईबिएल प्रगति फण्डको इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, प्रभु सेलेक्ट र अपर तामाकोशीको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने नबिल ब्यालेन्स्ड फण्ड २, रिभर फल्स पावर र बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

यता प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.०१ प्रतिशत घटेको छ। त्यस्तै, सिईडिबी हाइड्रोपावर, समिट लघुवित्त र लक्ष्मी लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेका छन्।

१३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक बढेर बन्द भएको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त र लघुवित्तको शेयरमूल्य १ प्रतिशतभन्दा बढी बढेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया