काठमाडौं - वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षमा एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाएका म्यानपावर कम्पनीको पनि नवीकरण निवेदन दर्ता शुरु गरेको छ ।
वैदेशिक रोजगारीमा सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीहरुको इजाजतपत्र नवीकरण गर्ने व्यवस्था गर्न वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अनुसार मन्त्रिपरिषदबाट बाधा अडकाउ फुकाउ आदेश जारी गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्ताव लगेको अवस्थामा विभागले सयभन्दा कम कामदार पठाउने म्यानपावरहरुको नवीकरण निवेदन दर्ता शुरु गरेको हो ।
मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमल ढकाल र कार्यसमिति सदस्य प्रज्ञान न्यौपानेले मन्त्रालयका सचिव एकनारायण अर्यालसँग छलफल गरेपछि चालू आर्थिक वर्षमा सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको पनि नवीकरणका लागि निवेदन दर्ता गर्न मन्त्रालयले वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया