एनआईसी एशिया बैंकमा अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

३ बर्ष अगाडि

काठमाडौं - ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने Cash Recycler सेवाको शुभारम्भ गरेको छ । 

यस सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । 

यस मेसिनबाट एक हजार र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिने सीमा रहेको छ । 

सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको यस बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले Cash Recycler मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्नेछ ।

 उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ । 

बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । 

साथै, यस Cash Recycler मेसिनबाट ग्राहक महानुभावहरूले दैनिक रुपमा एटिएम मेसिनबाट झै सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया