काठमाडौं - हिमालयन बैंकले तोकिएको टाइमलाइनमा जवाफ नपठाएपछि भाँडिएको ठानिएको सिभिल बैंकसँगको मर्जर पुनः ब्यूँतिएको छ । हिमालयन बैंकको बोर्ड बैठकले निर्णय गरी मंगलबारजवाफ पठाएसँगै अब सिभिलसँगको मर्जरका लागि आज प्रारम्भिक सम्झौता हुने भएको हो ।
भाँडिएको घोषणा नै गरी सिटिजन्स बैंकसँगको सम्भावित मर्जरका लागि तारन्तार छलफलमा जुटिसकेका सिभिल बैंकका सञ्चालकहरुको बैठक समेत भर्खरै सकिएको छ । सो बैठकले हिमालयन बैंकबाट सकारात्मक जवाफ आएको भन्दै पहिलाको सहमतिअनुसार नै मर्जरको एमओयू गर्ने निर्णय गरेको हो ।
यो सहमतिसँगै हिमालयन बैंकमा अब सिभिल बैंक बिलय हुने भएको छ । यी दुई बैंकबीच भएको सहमतिअनुसार असार २७ गतेभित्रै एमओयू गर्ने भनिएको थियो । तर, सो मितिसम्म पनि हिमालयन बैंकले जवाफ नपठाएपछि सिभिलका सञ्चालकहरु मर्जर भाँडिएको ठानेर सिटिजन्ससँग केन्द्रीत भएका थिए । तर हिमालयनले आज जवाफ पठाएपछि भाँडिइसकेको मर्जर पुनः अगाडि बढ्ने भएको हो ।
सिभिलले उठाउँदै आएको कर्मचारी समायोजनको विषयमा अन्तिम आवरमा हिमालयन बैंकले सहमति जनाएको छ । यस्तै, हिमालयनले सिभिललाई १००ः८१ को सेयर स्वापमा गाभ्नेछ ।
मर्जरपछि बन्ने बैंकको नाममा 'हिमालयन बैंक' नै हुनेछ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले निरन्तरता पाउनेछन् । दोश्रो बरियतामा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल रहनेछन् ।
यस्तै, मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा सिभिल बैंकबाट कुनै प्रतिनिधित्व हुनेछैन ।
प्रतिक्रिया