काठमाडौं, अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । डलरको तुलनामा मंगलबार नेपाली रुपैंया इतिहासकै कमजोर बनेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलवारका लागि प्रतिडलर विनिमय दर १२७ रुपैयाँ ४१ पैसा तोकेको छ । मुद्रा बजारमा १ डलरका लागि नेपालीले यति धेरै मूल्य चुकाउनु परेको यो पहिलोपटक हुनेछ । यसअघि गत साता बुधवार डलरको मूल्य १२७ रुपैयाँ ३० पैसाको कीर्तिमानी स्तरमा पुगेको थियो ।
त्यसयता केही सुस्ताएको डलरको भाउले मंगलवार नयाँ कीर्तिमान कायम गरेको हो ।
डलरको मूल्य वृद्धि हुँदा नेपालीलाई फाइदा घाटा दुवै हुने भए पनि घाटा बढी छ । डलर महँगो हुँदा महँगी बढ्छ । स्वदेशमै उत्पादन गर्न सकिने सामान्य कृषि वस्तुदेखि ठूलाठूला मेशिन औजार, मोटरगाडी, हवाईजहाज, औषधि, यन्त्र उपकरणसम्म आयात गर्ने नेपालमा हरेक चिजको भाउ बढ्छ ।
प्रतिक्रिया