काठमाडौ, नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिन म्याद पुनः थप भएको छ।
बैंकले यस अघि असार २६ गते निष्कासन बन्द हुने भनिएको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’, सो दिन बकर इदका सार्वजनिक बिदा परेका कारण निष्कासन अवधि एक दिनका थप गरेको थियो।
निष्कासन अवधिभर पूर्ण आवेदन नपरेका कारण बैंकले ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरेको हो। सो ऋणपत्रमा अब साउन ४ गतेसम्म अवोदन दिन सकिनेछ।
वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइने यो ऋणपत्र बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्कासन गरेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन्।
सो ऋणपत्र खरिदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया