एक वर्षमा १०२९ अंकले घट्यो नेप्से, बजार पँुजीकरण रु.२८ खर्ब ४४ अर्ब

३ बर्ष अगाडि

काठमाडौं, एक वर्षको अवधिमा नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १००० बढी अंकले घटेको छ । २०७८ जेठ मसान्तमा ३०२५.८ रहेको नेप्से सूचकाङ्क २०७९ जेठ मसान्तमा १०२९.५ अंकले घटेर १९९६.३ को बिन्दुमा पुगेको छ ।

यस्तै, जेठ मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.२८ खर्ब ४४ अर्ब ११ करोड पुगेको छ । २०७८ जेठ मसान्तमा बजार पुँजीकरण रु.४२ खर्ब १६ अर्ब रहेको थियो ।

२०७९ जेठ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २३२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.७ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.८ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ जेठ सम्ममा सूचीकृत ६ अर्ब ७४ करोड शेयरको चुक्ता मूल्य रु. ६६४ अर्ब ६४ करोड रहेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को एघार महिनासम्ममा रु.५४ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, रु.५१ अर्ब ८१ करोड बराबरको बोनस शेयर, रु.४९ अर्ब १६ करोड बराबरको डिबेन्चर, रु.२४ अर्ब ८ करोड बराबरको साधारण शेयर, रु.१० अर्ब ८८ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.१९४ अर्ब १८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब २८ करोड बराबरको डिबेन्चर, रु.६ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड, रु.६ अर्ब ५१ करोड बराबरको साधारण शेयर र रु.३ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर गरी कुल रु. २८ अर्ब १५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ

३ बर्ष अगाडि

प्रतिक्रिया