काठमाडौं - नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्तिपछि नबिल बैंकले आज असार २७ गतेबाट सुरु गर्ने भनिएको एकीकृत कारोबार नहुने भएको छ । दुवै बैंकले संयुक्त रुपमा निकालेको सूचनामा आज असार २७ गतेबाट एकीकृत कारोबार सुरु नहुने जानकारी गराइएको हो ।
नेपाल सरकारको सालतमामी परेका कारण सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकोले समायोजन कार्य ढिलो हुन गई आज असार २७ गते सोमबार पनि बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहने सूचनामा जानकारी गराइएको छ ।
उक्त समयमा दुवै बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने सूचनामा जनाइएको छ । गत असार २३ गते प्रकाशित सूचनामा भने दुवै बैंकको एकीकृत कारोबार असार २७ गतेबाट हुने भनिएको थियो ।
एकीकृत कारोबारका लागि दुवै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि नबिल बैंकको असार २३ गतेदेखि असारन २७ गते कार्यालय समयअघिसम्म र नेपाल बंगलादेश बैंकको असार २३ गतेदेखि असार २७ गते कार्यालय समयअघिसम्म सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गरिने जानकारी गराइएको थियो ।
प्रतिक्रिया