काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।
उक्त नियमावली मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र कार्यान्वयनमा आउँछ । संशोधित नियमावलीमा सेबोनले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित नियमावलीअनुसार अहिले सञ्चालनमा रहेका ब्रोकरले २ करोड रुपैयाँ रहेको चुक्तापुँजी २ वर्षभित्र १० गुणाले बढाएर २० करोड पुर्याउनुपर्नेछ । पुँजीवृद्धि गरेर २० करोड पुराउँदा ब्रोकरहरु ग्राहकको आदेशअनुरुप धितोपत्र खरिदबिक्रीका लागि योग्य हुनेछन् ।
ब्रोकरहरु पूर्ण सेवा दिनलाई ६० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । ६० करोड रुपैयाँ चुक्तापुँजी भएका ब्रोकरले ग्राहकको नामबाट सेयर खरिदबिक्री, मार्जिन कारोबार, लगानी परामर्श सेवाका साथै निक्षेप सदस्यसम्बन्धी काम गर्न योग्य हुनेछन् ।
संशोधित नियमावलीमा स्टक डिलर अर्थात् धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी प्रस्ताव गरिएको छ । १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरहरु आफ्नै नामबाट सेयर खरिदबिक्री, धितोपत्र दलालहरुको काम, धितोपत्र प्रत्याभूतिको कामका साथै योग्य संस्थागत लगानीकर्ताको काम गर्न पनि योग्य हुनेछन् ।
नेपालमा अहिले ५० वटा ब्रोकर सञ्चालनमा छन् । ती ब्रोकरहरुले दुई वर्षको अवधिमा मात्रै कमिसनबापत १३ अर्ब ८२ करोड रुपैयाँ कमाएका छन् ।
प्रतिक्रिया