काठमाडौं - सरकारले आगामी आइतबारदेखि विकास खर्चको भुक्तानी गर्न नपाउने भएको छ ।
योसँगै चालु आर्थिक वर्ष २०७९/८० को बजेटको ५५ प्रतिशत विकास खर्च (पुँजीगत) फ्रिज हुने देखिएको छ । चालु आर्थिक वर्षको अन्तिम समय आइपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँमात्र खर्च गरेको देखिएको छ ।
चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको थियो । यो हिसाबले सरकारले कुल विनियोजित बजेटको ४४.७२ प्रतिशतमात्र खर्च गरेको देखिएको छ ।
असार महिना लागेसँगै खर्च तथा भुक्तानीलाई तीव्रता दिएको सरकारले चालु आर्थिक वर्षको अन्तिम समयसम्म कुल पुँजीगत खर्चको ४५ प्रतिशत पनि खर्च गर्न सकेन ।
सरकारले शुक्रबारमात्रै ४ अर्ब ९७ करोडमाथिको भुक्तानी गरेको छ । यस्तो भुक्तानी असार १ गतेयता २४ गतेसम्म कुल ३२ अर्ब २० करोड ८१ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया