काठमाडौं - नेपाल धितोपत्र बोर्डले ३ वर्गका नयाँ धितोपत्र दलाल थप्ने निर्णय गरेपछि व्यवस्थापिका संसदको अर्थ समितिले समेत चासो देखाएको छ । बोर्डले हाल सञ्चालनमा रहेका ब्रोकरको स्तरोन्तनी तथा सुधार नगरी अत्याधिक पुँजीको व्यवस्था गर्दै नयाँ थप्ने निर्णय गरेपछि समितिले सोधपुछ थालेको हो ।
धितोपत्र बोर्डले हालका ब्रोकर कम्पनीको सुधारका लागि चालिएका कदम र भएका सुधारको विवरण बारम्बार माग गर्दा पनि बेवास्था गर्दै आएको थियो । बोर्डले अर्थ समितिले मागेको विवरणको जवाफ समेत नदिई एकाएक अधिक पुँजी आधार कायम गरेर नयाँ धितोपत्र दलाल कम्पनी थप गर्ने निर्णय नै गराइसकेको छ ।
धितोपत्र दलाल कम्पनीको संख्या वृद्धि गर्नु भन्दा अघि धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धी तथा हालका धितोपत्र दलाल कम्पनीको स्तारोन्नती र कार्यक्षेत्र विस्तार गर्न भनेर व्यवस्थापिका संसदको अर्थसमितिले सिफारीस गरेको थियो ।
तर, समितिले सो अनुसार काम भए नभएको विवरण माग गर्दा समेत कुनै जवाफ नदिई नयाँ ब्रोकर थप गर्ने निर्णय उपर छलफल हुने अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले बताए । “धितोपत्र बोर्डको निर्णयले धितोपत्र बजारको सुधार हुन्छ भन्नेमा समितिलाई बुझाउनु पर्छ,” उनले भने, “नत्र सीमित व्यक्ति तथा समुहको स्वार्थ पुर्ति गर्न तथा बजारको अवस्था हालको भन्दा खराब बन्ने हो कि भन्ने चासो समितिको रहन्छ नै ।”
प्रतिक्रिया