वाणिज्य बैंकहरुमा एकैदिन थपियो १३ अर्ब निक्षेप, घट्यो कर्जा लगानी

३ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुमा बुधबार एकैदिन १३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चालु आर्थिक वर्ष सकिन एक साताभन्दा केही मात्र बढी समय बाँकी रहँदा समग्र बैंकिङ्ग प्रणालीमा भने दैनिक १५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप थपिन थालेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बुधबारसम्म वाणिज्य बैंकहरुमा निक्षेप ४४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो । मंगलबारसम्ममा वाणिज्य बैंकहरुमा ४४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यस अवधिमा विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा १ अर्बले निक्षेप बढेको छ ।

असार २२ गते बुधबारसम्म विकास बैंक र फाइनान्सहरुको कुल निक्षेप संकलन ५ खर्ब ९२ अर्ब रहँदा कर्जा लगानी ५ खर्ब ३१ अर्ब रहेको छ । समीक्षा अवधिमा बैंकिङ्ग क्षेत्रको अन्तरबैंक सापटी दर औसतमा ७ प्रतिशत रहेको छ ।

बुधबार वाणिज्य बैंकहरुको कर्जा लगानी अघिल्लो दिनको तुलनामा ४ अर्बले घटेर ४१ खर्ब ७६ अर्ब रुपैयाँमा झरेको छ । यस्तै विकास बैंक र फाइनान्समा भने अघिल्लो दिनभन्दा १ अर्बले कर्जा लगानी बढेको छ ।

समग्र प्रणालीमा बुधबारसम्म १४ अर्बले निक्षेप बढेर ५० खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । मंगलबारसम्म ५० खर्ब ४७ अर्ब रहेको थियो । चालु आर्थिक वर्ष सकिन लाग्दा सरकारले आर्थिक वर्षमा भएको विकास निर्माणको भुक्तानी तीव्र रुपमा बढाएको छ । 

यसले पनि बैंकिङ्ग प्रणालीमा आकर्षक रुपमा निक्षेप वृद्धि देखिन थालेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया