रामपुरमा गौशाला निर्माण शुरु

७ बर्ष अगाडि

बेझाड – पाल्पा रामपुर नगरपालिका–६ तातोपानीस्थित रु ५० लाखको लागतमा गौशाला निर्माण हुने भएको छ । 

रामपुर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेका गौशालाको आज पतञ्जली योग पीठका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण जी महाराजले शिलान्यास गर्नुभयो । 

सो अवसरमा उहाँले दीर्घ जीवन जीउनका लागि जैविक, प्राकृतिक तत्व रहेको गाईको पिसाब अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै गौशाला निर्माण कार्यमा पतञ्जली योग पीठले रु ११ लाख सहयोग गर्ने घोषणा गर्नुभयो । 

गौशाला निर्माणका लागि नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । पन्ध्र रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको गौशाला एक वर्षभित्र सम्पन्न गर्ने योजना छ । 

दुई सय ५० गाई अट्ने क्षमताको गौशाला निर्माण हुने वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । रामपुर नगरपालिका क्षेत्रमा पछिल्लो समय छाडा पशु चौपायाले सताउन थालेपछि त्यसको व्यवस्थापन र गाईको संरक्षण गर्न गौशाला निर्माण कार्य शुरु गर्न लागिएको हो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया