आजबाट बिक्रीमा आयो नेपाल लाइफ र एनआईसी एसिया बैंकको १३ लाख कित्ता बढी सेयर

३ बर्ष अगाडि

काठमाडौं -  नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको १३ लाख कित्ता बढी सेयर आजबाट लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको कुल १३ लाख १६ हजार ८७१ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो । यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

लिलामीमा राखिएको सेयरमध्ये नेपाल लाइफ इन्स्योरेन्सको न्यूनतम प्रतिकित्ता ७०० रुपैयाँ र एनआईसी एसिया बैंकको ४२५ रुपैयाँ कायम गरिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सोभन्दा माथि १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति असार २७ गते बैंकिङ समयसम्म तोकिएको छ । 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया