काठमाडौं-गत साता नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक करिब ९ प्रतिशत बढेको छ। अघिल्लो साता १८६२.०६ विन्दुमा बन्द भएको नेप्से, गत साता ८.९५ प्रतिशत अर्थात १६६.७१ अंक बढेर २०२८.७७ विन्दुमा पुगेको छ।
साताका ६ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार उच्च अंकले बढेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो।
यस अनुसार यस साता नेप्से उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता साप्ताहिक रुपमा नेप्सेले बुलिश इन्गल्फिङ्ग मैनबत्ती बनाएको छ। यसले बजारमा खरिदकर्ताहरु बलियो हुँदै गएको संकेत गर्दछ।
साताको अन्तिम कारोबार दिन नेप्सेमा बुलिश क्रशओभर बनेको छ। नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेको छ। यस साता ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि गएमा त्यसले बजार बढ्ने संकेत गर्दछ।
गत साता नेप्सेसँगै भोल्यूम पनि बढेको छ। बजार खुलेका ६ कारोबार दिनमध्ये ५ कारोबार दिन २० दिने औषत भोल्यूमभन्दा बढीको शेयर कारोबार भएको छ। गत साता बजारमा दैनिक औषतमा १ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब २८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३८.६० प्रतिशत बढी हो।
गत साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ भने बैंकिङ्गको सबैभन्दा कम बढेको छ।
अघिल्लो साता १५५४.५८ विन्दुमा रहेको व्यापार उपसमूहको परिसूचक गत साता ३३१.७३ अंक बढेर १८८६.३१ विन्दुमा पुगेको छ। यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता यस उपसमूहमा पनि बुलिश क्रशओभर देखिएको छ। यस उपसमूहको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले यस उपसमूहको परिसूचक आगामी दिनमा बढ्ने संकेत गर्दछ।
प्रतिक्रिया