काठमाडौं - हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया