ट्रेजरी बिलको ब्याजदर बढ्यो, आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि बढ्न सक्ने

३ बर्ष अगाडि

काठमाडौं - पछिल्लो समय ट्रेजरी बिलको ब्याजदर बढेर ११.०६ प्रतिशत पुगेको छ । ट्रेजरी बिलसँगै बैंकहरुबीचको अन्तरबैंक कारोबारको ब्याजदर पनि ७ प्रतिशत पुगेको छ ।

ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत माथि पुगेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ७ प्रतिशतमा स्थायी तरलता सुविधा (एसएलएफ) लिएर उक्त रकम ट्रेजरी बिलमा लगानी गरिरहेको जानकारहरु बताउँछन् । ट्रेजरी बिलको ब्याजदर बढ्नुले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि बढ्न सक्ने उनीहरु बताउँछन् ।

कोभिडको समयमा १ प्रतिशतभन्दा तल रहेको ट्रेजरी बिलको ब्याजदर हाल ११ प्रतिशतभन्दा माथि रहनुले आगामी दिनमा बैंकको ब्याजदर पनि बढ्ने वित्त जानकारहरुको तर्क छ । 

सरकारले अल्पकालीन अवधिका लागि आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्दै आएको छ । सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यस्ता ट्रेजरी बिल जारी गर्ने गर्छ । यस्ता ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक ट्रेजरी बिल किन्न पाउँछन् । विशेषगरी राष्ट्र बैंकले बजारमा तरलता बढी भएको खण्डमा पैसा तान्ने उद्देश्यले वा आन्तरिक ऋण उठाउन नियमित प्रक्रियाअन्तर्गत पनि ट्रेजरी बिल जारी गर्छ । 

ट्रेजरी बिल खासगरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने हुन्छन् । यस्ता ट्रजरी बिलमा राष्ट्र बैंकले बजारमा पैसाको अवस्थाअनुसार ब्याजदर निर्धारण गरेको हुन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया