काठमाडौं - सानिमा बैंकको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ ।
गत असार १० गतेबाट सानिमा बैंकको ‘सानिमा डिबेन्चर-२०८९’ नामक ऋणपत्रका १ हजार अंकित दरका कुल ५० लाख इकाइ बिक्री खुलाइएको थियो । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार १४ गते हुने भएको थियो ।
तर, मागबमोजिम आवेदन नपरेकोले अब यो ऋणपत्रमा असार २४ गते बैंकिङ समयपछि आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । यो अवधिभित्र मागभन्दा बढी आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने आरबीबी मर्चेन्टले स्पष्ट पारेको छ ।
बैंकको यो ऋणपत्रको कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेको) का लागि बिक्री खुला गरिएको छ ।
यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
सानिमाको यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन् ।
प्रतिक्रिया