सेयर लगानीकर्ताहरूको १९ बुँदे माग कार्यान्वयन गर्न गठन गरिएको समितिको पहिलो बैठक आज सम्पन्न भएको छ ।
बैठक बिक्री आदेशमा एओएन सुविधा खारेज गरिने निर्णय भएको छ । यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार पनि गरिसकिएको छ । सम्भवत भोलिदेखि नै यो सुविधा खारेज गरिने स्रोतले बताएको छ ।
यस्तै, ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन अल अर नन् फिचर हटाइने भएको हो । यो फिचर खरिद तर्फको पहिल्यै हटिसकेको थियो । अब बिक्री आदेशमा पनि एओएन सुविधा हटाइने भएको हो । एओएन फिचरले बजारमा चलखेल हुने भन्दै यो सुविधा हटाइने भएको हो ।
यसैगरी, बैठकमा ब्रोकर कम्पनीहरूको शाखा विस्तारमा जोड दिइने निर्णय भएको छ । ७७ वटै जिल्लामा ब्रोकरको शाखा विस्तार गर्ने र अहिले आवेदन दिएकाहरूलाई स्वीकृति दिइने निर्णय भएको छ । बैठकमा ४–१२ को क्याप, मार्जिन कललाई रोक्न तथा जोखिम भारलाई १५० प्रतिशतबाट १०० प्रतिशतमा झर्न धितोपत्र बोर्डले राष्ट्र बैंक समन्वय गर्ने अनौपचारिक निर्णय भएको छ।
नियामक निकाय नेपाल धितोपत्र बार्डमा सम्पन्न भएको आजको बैठकमा समितिमा नियामक निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवाहक कार्यकारी निर्देशक मुक्ति नाथ श्रेष्ठ र विनय देव आचार्य, पूँजी बजार सुधार संघर्ष समितिका तर्फबाट अध्यक्ष रोहन कार्की र एसपी चौलागाँई, नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघको तर्फबाट प्रतिनिधित्व गर्दै कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।
अब यस समितिको अर्को बैठक अर्को साताको आइतबार बस्नेछ । अर्को बैठकमा १९ बुँदे मागलाई सम्बोधन गर्न विशेष अध्ययन गरेर आउने निर्णय भएको छ ।
प्रतिक्रिया