काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाउने तयारी गरेको छ ।
सरकारको निर्देशनमा गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य २० र डिजेल तथा मट्टितेलको मूल्य २९ रुपैयाँले घटाएको छ। त्यसकै आधारमा यातायात व्यवस्था विभागले पनि गाडी भाडा समायोजन गर्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
यसअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विभागले सार्वजनिक यातायातका साधनको भाडा बढाएको थियो। विभागले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा त्यहि अनुसार गाडी भाडा पनि समायोजन गर्दै आएको छ ।
विभागले अन्तर प्रदेशमा चल्ने सवारी साधनको भाडा घटाउने तयारी गरेको हो। काठमाडौं उपत्यकाको गाडी भाडा भने प्रदेश यातायात कार्यालयले समायोजन गर्ने व्यवस्था रहेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कटौती गरेको छ । जसअनुसार, आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
प्रतिक्रिया