काठमाडौं- गत साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक साढे ५ प्रतिशत घटेको छ। अघिल्लो साता १९७१.३८ विन्दुमा बन्द भएको नेप्से, गत साता १०९.३२ अंक घटेर १८६२.०६ विन्दुमा झरेको छ।
६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार घटेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८१३.०८ विन्दुमा टेवा पाउने देखिन्छ।
यस साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै पनि नकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ।
गत साता, साप्ताहिक रुपमा नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन बनेको मैनबत्तीले भने सो दिन बिक्रीकर्ता कमजोर हुँदै गएको संकेत गर्दछ।
नेप्से ओरालो लागेपनि गत साता भोल्यूम भने बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब २७ करोडको शेयर कारोबार भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३.०५ प्रतिशत बढी हो।
गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १०।३४ प्रतिशत घटेको छ भने जीवन बीमा उपसमूहको सबैभन्दा कम ३.२२ प्रतिशत घटेको छ।
अघिल्लो साता २२७३.८६ विन्दुमा रहेको जलविद्यूत उपसमूहको परिसूचक, गत साता २३५.१५ अंक घटेर २०३८.७१ विन्दुमा झरेको छ। यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २२५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १७५० विन्दुमा टेवा पाउने देखिन्छ।
नेप्सेजस्तै यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल रहेको छ। जसले यस उपसमूह पनि अझै नकारात्मक रहेको संकेत गर्दछ।
साताको अन्तिम कारोबार दिन बनेको मैनबत्तीले सो दिन बजारमा बिक्रीकर्ता कमजोर भएको संकेत गर्दछ।
प्रतिक्रिया