सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी, बाँकेमा लागुऔषध मुद्दा बढ्दै

३ बर्ष अगाडि

काठमाडौं - भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो ।

महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत छ स्थानीय तह पर्दछन् ।  सीमा क्षेत्रका कतिपय ठाउँमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा ९चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो० हुँदै मदिरा भारततर्फ लाने गरेका पाइएको हो ।

यही असार महिनाका हालसम्मको अवधिमै पाँच ठाउँबाट प्रहरीले भारततर्फ लाँदै गरेका मदिरा नियन्त्रणमा लिएको छ । यो कारोबारमा बढी भारतीय नै समातिएका छन् । यसरी नियन्त्रणमा लिइएका मदिरामा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

बाँकेमा लागुऔषध मुद्दा बढ्दै
बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । खासगरी जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो ।  जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसर पारेर यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । 

उनले लागुऔषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएको उल्लेख गर्दै विद्यालय केन्द्रित कार्यक्रम र लागुऔषध जोखिम न्यूनीकरण गर्नुपर्छ भने । गत आर्थिक वर्षमा बाँकेमा कूल १९६ पक्राउ परेका थिए । ती मध्ये १८५ पुरुष र ११ महिला रहेकामा १२६ लाई मुद्दा चलाइएको थियो ।

पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिएको छ । गत वर्षभन्दा चालु आवमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ । गत आवमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव तीन केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव चार लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया