जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न माग

३ बर्ष अगाडि

काठमाडौं - जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेश अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् ।

हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालवाहक रेल समेत सञ्चालन गरिए भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा समाधान आयात हुने तथा त्यसबाट महँगीसमेत नियन्त्रणमा आउने उद्योगी व्यवसायीको भनाइ छ ।

छलफलमा उद्योगी व्यवसायीले तत्कालका लागि दैनिक पाँच/छ ट्रक मालसमान आयात गर्ने र पछि क्रमशः बढाउँदै जाने भएकाले मालवाहक रेल सेवा घाटामा नजाने दाबी गरेका थिए ।

गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गर्नुभएको थियो । त्यसयता रेल सेवा नियमित रुपमा सञ्चालन हुँदै आएको छ । 

दैनिक जयनगरबाट बिहान ८ः३० र दिउँसो ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट बिहान १०ः३० र साँझ ५ः१५ बजे रेल छुट्ने गर्छ । यात्रु चढाउन र झार्न सात ठाउँमा स्टेशन÷हल्टको व्यवस्था गरिएको छ ।

कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेशनको व्यवस्था छ । रेल सेवा सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । 

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । वातानु कुलित सेवातर्फ भने ४५० रुपैयाँ भाडादर कायम गरिएको कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया